नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
काठमाडौं । नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालय (केयू) ले संयुक्त रूपमा समुदायमा आधारित ‘सामाजिक नवप्रवर्तन तथा उद्यमशीलता (Social Innovation and Entrepreneurship) विषयमा स्नातकोत्तर कार्यक्रम सुरु गर्नका लागि औपचारिक साझेदारी सम्झौता गरेकोका छन् । यो कार्यक्रम देश र युवाको वर्तमान आवश्यकतालाई केन्द्रमा राखी नेपालमा शिक्षाको परिदृश्यलाई पुनर्परिभाषित गर्ने उद्देश्यले तयार गरिएको बताइएको छ ।
समुदायमै गएर अध्ययन गर्ने, सिक्ने र सिकेका कुरा अभ्यास गर्ने हेतुले तयार गरिएको यस कार्यक्रममा विद्यार्थीहरूले नेपालको तीन भौगोलिक क्षेत्र हिमाल, पहाड, तराई र मधेशमा यात्रा गर्दै सिकाइको प्रक्रियामा सहभागी हुनेछन्। उनीहरू समुदायमै बसोबास गरी, स्थानीय परिवेशमा घुलमिल हुँदै स्थानीय विषयवस्तुहरूको अध्ययन गर्नेछन्।
‘समुदाय आफैँमा एक पाठ्यक्रम’ (community is a curriculum) हो भन्ने दर्शनमा आधारित यस कार्यक्रममा विद्यार्थीहरूले हिमाल, पहाड र तराईमा जम्मा १० हप्ता बिताउनेछन्। यस अवधिमा उनीहरूले वैश्विक र सैद्धान्तिक ज्ञानसँगै स्थानीय समुदाय, सामाजिक उद्यम र स्थानीय तहमा भएका विभिन्न पहलहरूमा प्रत्यक्ष संंलग्न भएर नेपालका विविध सामाजिक र आर्थिक यथार्थहरूको अनुभव प्राप्त गर्नेछन्।
समुदायबाट प्राप्त सिकाइलाई शैक्षिक रूपमा अन्तरसम्बन्धित बनाइनेछ जसका लागि प्रत्येक क्षेत्रमा विद्यार्थीहरूले उद्यमशीलता, सामाजिक विज्ञान, प्रविधि, समुदाय–आधारित परियोजना तथा समग्र विकाससम्बन्धी अन्तरविषयगत पाठ्यक्रमहरू अध्ययन गर्नुपर्नेछ ।
विद्यार्थीहरूको समग्र विकासलाई सहयोग गर्न यस कार्यक्रममा नेपाल लगायत नेपाली डायस्पोराका विज्ञ तथा अनुभवी व्यक्तिहरूलाई मेन्टरका रूपमा संलग्न गराइनेछ । साथै, स्थानीय उद्योग र समुदायका सदस्यहरूलाई विषयगत विज्ञका रूपमा पनि सहभागी गराउने जनाइएको छ ।
सम्झौता हस्ताक्षर समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले विभिन्न क्षेत्रहरूमा प्रत्यक्ष अनुभव र व्यावहारिक सिकाइसँग शैक्षिक अध्ययनलाई जोड्दै सामाजिक रूपमा सचेत विद्यार्थी उत्पादन गर्नु नै यस कार्यक्रमको उद्देश्य भएको बताए । यसले विद्यार्थीलाई आफू र समुदायलाई बुझ्न, आवश्यक सीप विकास गर्न तथा उद्यमशील चेतनाको विकास गर्न सहयोग गर्ने उनले उल्लेख गरे ।
नेपाल कम्युनिभर्सिटीका अध्यक्ष नरोत्तम आर्यालले यस कार्यक्रम सामाजिक विज्ञान, प्रविधि र उद्यमशीलताका पाठ्यक्रमहरू समेटिएको नेपालको पहिलो अन्तरविषयगत स्नातकोत्तर कार्यक्रम भएको बताए । उनले भने, “कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले आफूलाई गहिरो रूपमा आत्मपरिक्षण गर्न, सामाजिक–राजनीतिक तथा आर्थिक गतिशीलताहरूको विश्लेषण गर्न, प्राविधिक सीप हासिल गर्न र उद्यमशील सोच विकास गर्न सक्षम हुनेछन्।”
यो स्नातकोत्तर कार्यक्रम २०२६ को अक्टोबरबाट सुरु हुने बताइएको छ । यसले परिवर्तनप्रति आकांक्षा भएका र काम गरिरहेका अभ्यासकर्ताहरू, उद्यमी, अनुसन्धानकर्ता र अन्तरविषयगत शैक्षिक पृष्ठभूमिका स्नातकहरूलाई आफ्नो जीवन र समुदायमा अर्थपूर्ण परिवर्तन ल्याउँदै मान्यता प्राप्त उपाधि हासिल गर्न आह्वान गरेको छ। साथै यस कार्यक्रमले उद्योग, शिक्षा, सरकार, समुदाय तथा नेपाली डायस्पोराका इच्छुक साझेदार र सदस्यहरूलाई पनि यस अर्थपूर्ण र महत्वाकांक्षी पहलमा सहभागी हुन आह्वान गरेको छ ।
नेपाल कम्युनिभर्सिटीले अनुसन्धान र समुदाय–आधारित अघिल्ला कार्यक्रमबाट प्राप्त अनुभव, समुदायसँगको सहकार्य तथा सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा केन्द्रित दृष्टिकोण यस कार्यक्रममा प्रदान गर्नेछ ।
दीर्घकालीन विश्वसनीयता र प्रतिष्ठा हासिल गरेको काठमाडौं विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा सुदृढ शैक्षिक आधार प्रदान गर्दै कार्यक्रमलाई उत्कृष्ट बनाउने लक्ष्य लिएको बताइएको छ। दुई संस्थाका स्रोत र साधनहरू संयोजन गरेर सुरु गर्न लागिएको यो आफ्नो प्रकारको पहिलो स्नातकोत्तर कार्यक्रम नवीन, अनुभवमुखी, व्यावहारिक र शैक्षिक रूपमा गहन हुने अपेक्षा गरिएको जनाइएको छ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?