Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, पुष, १३
सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते स्वीकृति पाएको हो। जसमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये ६ लाख २० हजार कित्ता लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ अन्तर्गतका स्थानीय बासिन्दाका लागि रहेको छ। यसमा साविक घनपोखरा गाविसका वडा नं. १, ५, ६, ७ र ८ तथा साविक खुदी गाविसका वडा नं। १ देखि ९ सम्मका बासिन्दा समेटिएका छन्।

त्यस्तै बाँकी ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिकाका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीयका लागि छुट्याइएको छ। यसमा साविक घनपोखरा, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले र सिम्पानी गाविसका विभिन्न वडा समावेश छन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयले पुस २२ गतेदेखि माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पुस २२ गतेदेखि पुस २९ गतेसम्म आवेदन दिन पाउनेछन्। मागभन्दा कम आवेदन परेको खण्डमा आवेदन अवधि थपिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावितले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिनेछ।

Top Changing Nepal

युट्युब सट्स