Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

आजदेखि स्वस्थानी व्रत आरम्भ, नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, पुष, १९
आजदेखि स्वस्थानी व्रत आरम्भ, नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?

काठमाडौं । आज (शनिबार) देखि स्वस्थानी व्रत आरम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् ।

पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी, स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याहृन कालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ । कुल परम्परा अनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

स्वस्थानी व्रतको परम्परा
स्वस्थानी व्रत कथा अनुसार यसको सुरुवात भगवान् विष्णुको सल्लाहमा पहिलोपटक पार्वतीले गरेकी हुन् । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको पुराणमा व्याख्या गरिएको छ।

भगवान् विष्णुको सल्लाह अनुसार महादेव पति पाउन श्रीस्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकी हुन् भन्ने उल्लेख गरिन्छ । त्यसको फलस्वरूप उनले महादेव पति पाइन् । त्यसैले आज पनि असल पतिको कामना वा पतिको सुस्वास्थ्यको कामना गरेर महिलाले यो व्रत लिने सदीयौंदेखि रहिआएको छ ।

व्रत एवं पूजा विधि नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?
पौष शुक्ल पूर्णिमादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखीसंकल्पपूर्वक व्रत आरम्भ गरिन्छ । एक महिनासम्म मध्याहृनको समयमा भगवान् शिवसहित स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजाआराधना गरिन्छ ।

व्रतालुले पूजा-आराधनापछि स्वस्थानीको माहात्म्य वाचन वा श्रवण गर्ने गर्छन् । व्रत अवधिभरि चोखोनितो गरी मध्याह्नकालमा एक पटकमात्र भोजन गर्ने गर्छन् । विधिपूर्वक व्रत नबस्नेले पनि आआफ्नो घरमा बिहान वा बेलुकी स्वस्थानीको कथा वाचन एवं श्रवण गर्नु पर्दछ ।

यस प्रकारले श्रद्धा एवं भक्तिपूर्वक गरिएको स्वस्थानीको व्रत एक महिनापछि अर्थात् माघ शुक्ल पूर्णिमाको दिनसमापन गरिन्छ । यस दिन सम्पूर्ण पूजासामग्री सहित स्वस्थानी परमेश्वरीलाई चढाउन विशेष वस्तु १०८ को संख्यामा हुने गर्छन् ।

अक्षता, बेलीपुष्प, सुपारी, जनै, पान, बत्ती, रोटी, एवं मौसम अनुसारका फलफूल सबै एक सय आठका दरले चढाई शिवलिंगसहित ॐकारयुक्त अष्टदलमा श्री स्वस्थानीको विशेष पूजा गर्ने विधिको व्याख्या गरिएको छ । पूजा सकिएपछि जुन कामनाले व्रत गरिएको हो सो कामना पूरा होस् भन्दै अर्घ्य दिई यस व्रतको समाप्ति गरिन्छ ।

स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थस्थल नेपाल विशेषगरी काठमाडौंभित्रै रहेका छन् । कथाका विभिन्न प्रसंगमा आएका गुह्येश्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किराँतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदी जस्ता क्षेत्र यहीं पर्ने हुनाले पनि नेपाली समाजमा यस व्रतले बढी महत्त्व र यस प्रतिको आस्था रहिरहेको हो ।

विशेष गरी स्वस्थानी व्रतकथामा लेखिएका लावण्यदेश अर्थात् साँखु शालीनदीमा एक महिनासम्म मेला लाग्दछ । यस ठाउँमा सयौं व्रतालु पुस माघको चिसोलाई समेत बेवास्ता गर्दै एक महिनासम्म बस्ने गर्दछन् भने अन्य दर्शनार्थी पनि स्नान, दर्शन आदि प्रयोजनका लागि पुग्ने गर्दछन् ।

Top Changing Nepal

युट्युब सट्स