Jankari Kendra
२६ भाद्र २०८३, शुक्रबार
Worldlink

अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, पुष, २३
अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा संशोधन गर्दै नेपाली व्यक्ति, फर्म तथा कम्पनीलाई विदेशमा अमेरिकी डलर २० हजारसम्म लगानी गर्न अनुमति दिएको छ ।

केन्द्रीय बैंकले मंगलबार संशोधित विनियमावली लागू गर्न सूचना जारी गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । नयाँ व्यवस्था अनुसार २० हजार डलरसम्मको लगानीका लागि यसअघिका कडा प्रक्रियागत व्यवस्थाले बाधा नपुर्‍याउने उल्लेख गरिएको छ ।

यस संशोधनले विदेशी लगानी भित्र्याउने प्रक्रिया पनि सरल बनाएको छ । अब विदेशी लगानीअघि गरिने सम्भाव्यता अध्ययन तथा पूर्व सञ्चालन खर्च (चुक्ता पुँजीको ३ प्रतिशतसम्म) का लागि राष्ट्र बैंकको पूर्वस्वीकृति आवश्यक पर्ने छैन ।

यस्तै, सूचना प्रविधि (आईटी) क्षेत्रका उद्योगहरूले आफ्नो निर्यात आम्दानीको आधारमा १० लाख डलरसम्म विदेशमा लगानी गर्न सटही सुविधा पाउने विशेष व्यवस्था समेत गरिएको छ ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा भित्र्याउने र बाहिर लैजाने प्रक्रियामा रहेका कानुनी जटिलता हटाई आर्थिक गतिविधि सहज बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो । यससँगै साना तथा मध्यम स्तरका नेपाली लगानीकर्ताहरूलाई विदेशमा व्यवसाय तथा लगानी विस्तार गर्ने अवसर खुलेको छ ।

Top Changing Nepal

युट्युब सट्स