काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले ९५ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो। यसले बैंकको नाफा २६ प्रतिशतभन्दा कम भएको देखाउँछ।
तर तथ्यांक अनुसार बैंकको आम्दानीमा वृद्धि देखिएको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँबाट बढेर चालू आवको पुस मसान्तसम्म ४ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ पुगेको छ। खुद फी तथा कमिशन आम्दानी ६१ करोड ७४ लाख रुपैयाँबाट बढेर ६२ करोड ४१ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ४ अर्ब ८६ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा भने १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँबाट घटेर १ अर्ब ९२ लाख रुपैयाँमा झरेको छ। प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँबाट घटेर ९.८९ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २२४.३७ रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा ४.९० प्रतिशतबाट घटेर ४.६५ प्रतिशतमा पुगेको छ। वितरणयोग्य मुनाफा ७१ करोड ९८ लाख रुपैयाँ रहेको छ।
बैंकको चुक्ता पूँजी १९ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा करिब ७२ करोड रुपैयाँ र रिजर्भमा १७ अर्ब ७ करोड रुपैयाँ सञ्चित छ। बैंकले २ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।



