काठमाडौं । दैलेखको आठबीस नगरपालिकाको राकमकर्णालीस्थित जाक्सी गाउँ निवासी नानीदेवी शाही हिजोआज एचआइभीसँग लडिरहेकी छन्। उनलाई एचआईभी संक्रमण भएको १० वर्ष भयो।उनका श्रीमान मजदुरीका लागि भारत जान्थे। भारतमा असुरक्षित यौनसम्पर्क गरेकाकारण एचआईभी संक्रमित भएपछि उनको मृत्यु भइसकेको छ।
नानीदेवीले श्रीमानको मृत्यु भएको ५ वर्षपछि मात्र आफूलाई पनि संक्रमण भएको जानकारी पाइन् । उपचारमा हालसम्म उनले आफ्नो खेतबारी बेचिसकेकी छन्। उनका देवरको पनि एचआईभीका कारण मृत्यु भइसकेको छ।जाक्सीकै ६३ वर्षीय धनसरा माझीको पीडा पनि कम छैन। उनले आफू एचआईभी संक्रमित भएको थाहा पाएको १० वर्ष बित्यो। मजदुरीकै क्रममा उनका श्रीमानको भारतमा मृत्यु भएपछि उनी लामो समयसम्म बिरामी भइन्। नेपालगञ्जमा परीक्षण गर्दा उनमा पनि संक्रमण भएको खुल्यो। आजको नेपाल सामाचारपत्र दैनिकले खबर छापेको छ।