काठमाडौं । जाडो मौसममा छालाको चिल्लो पदार्थ र नमीको मात्रा कम हुने भएकाले छाला सुक्खा हुने र फुट्ने समस्या बढ्ने गर्छ । गर्मीको तुलनामा जाडोमा छालामा आउने प्राकृतिक चिल्लो पदार्थ (नेचुरल मोइस्चराइजिङ फ्याक्टर) कम हुने भएकाले ओठ, गाला र हातखुट्टामा सुक्खापन र फुट्ने समस्या बढी देखिन्छ ।
सुक्खा हावा चल्ने, एसी र हिटरको अत्यधिक प्रयोगले शरीरको मोइस्चर नष्ट हुँदा छालाको सुक्खापन झन् बढ्ने गर्छ । छालालाई सुक्खापन र फुट्नबाट जोगाउन धेरै तातोपानीमा नुहाउन नहुने र नुहाएपछि नरिवलको तेल वा लोसन क्रिम लगाउनु पर्ने हुन्छ । छालालाई पञ्जा, टोपी र मास्कले ढाक्दा पनि समस्या कम हुन्छ ।
साबुन र सेम्पु साताको दुई वा तीन दिन मात्र प्रयोग गर्नुपर्छ, किनभने दैनिक प्रयोगले छालाको प्राकृतिक नमी नष्ट हुन सक्छ । यस्तै, नुहाएपछि सीधै ऊनीका कपडा लगाउनुभन्दा पहिले भित्री सुतीको कपडा लगाउनु उपयुक्त हुन्छ । शरीरलाई हाइड्रेट राख्नका लागि जाडोमा पर्याप्त पानी पिउनु पनि जरुरी छ । यी उपायहरू अपनाउँदा जाडोमा छालालाई स्वस्थ राख्न सकिन्छ ।





