काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नयाँ रिपोर्टले जोकोहीलाई आश्चर्यचकित पारिदिन्छ । रिपोर्ट भन्छ– संसारका प्रत्येक तीन महिलामध्ये एकजना आफ्नो जीवनकालमा शारीरिक हिंसा या यौन हिंसाको अनुभव गर्न बाध्य छन् ।
संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सी तथा उसका साझेदारले नयाँ अध्ययन गर्दै मंगलबार उक्त तथ्य सार्वजनिक गरेका हुन् । महिलाविरुद्ध हुने हिंसा बारे गरिएको यो नै सबैभन्दा ठूलो अध्ययन भएको एजेन्सीको दाबी छ ।
अध्ययनले प्रेम वा अन्य सम्बन्धमा रहेकी कुनै पनि युवतीमध्ये एकचौथाइ २५ वर्ष उमेरअघि नै हिंसाको सिकार हुने गरेको पनि पत्ता लगाएको छ ।
अध्ययनको आँकडामा २०१० देखि २०१८ सम्मको अवधि सामेल गरिएको छ । यसमा कोरोना महामारी प्रभावको तथ्यांक सामेल छैन ।
अध्ययन अनुसार, महिलाविरुद्ध घरेलु हिंसामा वृद्धि भएको छ । लकडाउन तथा अन्य प्रतिबन्धको समयमा महिला घरभित्रै बस्न बाध्य भएका कारण त्यस्ताखाले हिंसा बढेको हो ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एधनम ग्याब्रियसस भन्छन्, ‘‘महिलाविरुद्धका हिंसा हरेक देश र संस्कृतिमा छ । यसले लाखौं महिला र तिनका परिवारलाई नोक्सान पारिरहेको छ । कोरोना महामारीले यस्ता घटनामा वृद्धि गराएको छ ।’’
उनले सरकार व्यक्ति र समुदायलाई समस्या समाधानमा सहयोग गर्न आग्रहसमेत गरेका छन् ।