प्रविधिमा किसानको आकर्षण बढ्दो
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका चेतराज चौधरीले खेत जोत्न राँगा, गोरुको प्रयोग गर्न छाडेको पाँच वर्ष भइसक्यो । उनी अचेल खेत जोत्न ‘पावर टिलर’को प्रयोग गर्छन् । उनको यहाँ साढे चार बिगाहा जमिन छ । वर्षौंदेखि उनले तरकारी, उखु, गहुँ तथा धान खेती गर्दै आएकामा अहिले कृषि उपकरणको प्रयोग गरेर खेती गर्छन् ।
“अगाडि राँगाले खेत जोत्थे, अहिले पावर टिलर छ, खेतीपाती गर्न प्रविधिको प्रयोग बढेसँगै काम गर्न धेरै सजिलो भएको छ”, उनले भने । प्रविधिको प्रयोगले आफूलाई मात्र नभए धेरै कृषकलाई सहज भएको चौधरीको भनाइ थियो ।
कुरेरुवा कृषक समूहमा आबद्ध उनले कृषि ज्ञान केन्द्रको अनुदानमा कृषियन्त्र खरिद गरेका हुन् । यहाँका किसानसँग अहिले बालीनाली काट्नका लागि रिपर, रोपाइँ गर्न हिलो चक्का, जोत्नलाई पावर टिलरलगायतका उपकरण छन् । “धान, गहुँ काट्न, खेत जोत्न, रोपाइँ गर्न उपकरणको प्रयोग गर्छौं”, उनले भने, “कृषिमा परम्परागत शैली विस्थापित भएर नयाँ प्रविधि भित्रिएको छ ।”
शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले पनि केही वर्षयता खेतीपातीमा प्रविधिको प्रयोग गर्न थालेका छन् । “कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश किसानले कृषियन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन्”, उनले भने, “यसले समयको बचत गर्नुका साथै उत्पादन पनि बढेको छ ।”
जनशक्ति, लागत र समय कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा कृषिमा यान्त्रिकीकरणको प्रयोगले यहाँका किसान कृषि पेसामा आत्मनिर्भर हुन थालेका छन् ।
“पहिले परम्परागत तरिकाले खेती गर्दा जनशक्ति र लागत बढी लाग्ने र उत्पादन कम हुन्थ्यो । अहिले कृषियन्त्र उपकरणको प्रयोगले खेती गर्न थालेपछि कम लागतमा बढी उत्पादन हुने गरेको छ”, अनिलाले भने । गाउँमा काम गर्ने उमेरका युवा वैदेशिक रोजगारीका लागि विदेश जाने तथा शिक्षाका लागि सहर पस्ने गरेकाले कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुन थालेको उनको भनाइ थियो ।
भएका जनशक्तिको दैनिकी ज्याला पनि महङ्गो हुन थालेको अवस्थामा कृषि यान्त्रीकरणले कम खर्चमा उत्पादनमा वृद्धि हुने भएकाले प्रविधितर्फ कृषकको आकर्षण बढेको किसान चेतराज चौधरीले बताए । “विगतको जस्तो काम गर्ने जनशक्ति गाउँमा छैनन्, कम जनशक्ति हुँदा प्रविधिले सहज बनाएको छ । पहिला खेत जोत्न महिना दिन लाग्नेमा अहिले एक÷दुई सातामै सकिन्छ”, उनले भने ।
जिल्लामा कृषि क्षेत्रमा यन्त्रीकरणको प्रयोग बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए । “कृषि कर्ममा प्रयोग हुने नयाँ नयाँ यन्त्र तथा उपकरण सबैतिर पुगेका छन्, परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ”, उनले भने, “किसानले व्यक्तिगत रूपमा किनेर वा अनुदानमा प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गरेका छन् ।”
उनका अनुसार पुनर्वास, बेलौरी, लालझाडी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, दोधारा चाँदनी, भीमदत्तलगायत ठाउँका किसानले कृषि क्षेत्रमा साना, ठूला उपकरणको प्रयोग गर्दै आएका छन् ।
सम्बन्धित समाचार
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
