राष्ट्रपति पौडेल आजदेखि जर्मनीको औपचारिक भ्रमणमा
काठमाडौँ । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेल आज जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् ।
राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।
मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पु¥याएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए ।
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गरेका थिए । त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेका थिए ।
यसैगरी तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गरेका थिए । यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेका थिए ।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल छिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहेका छन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने तालिका रहेको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
