पाल्पा । असार अन्तिम साता वर्षाका बीच सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डमा कालोपत्र गरेको तीन दिन पनि नबित्दै उप्किएको छ । तिनाउ गाउँपालिका ३ दोभान बजार क्षेत्रमा सडक डिभिजन कार्यालय अन्तर्गत ठेक्का लागेको कालोपत्र रुखको बोक्रा जस्तै उप्किएको स्थानीयले बताएका छन् । यहाँ जीवन ब्रदर्श कन्ष्ट्रक्सनले काम गरेको हो ।
सडक डिभिजनका कर्मचारी र निर्माण व्यवसायीको लापरवाहीले तीन दिनमै कालोपत्र उप्किएको स्थानीय बताउँछन् । सिद्धार्थ राजमार्गको दोभानदेखि राम्दीसम्मका यसै वर्ष मर्मत गरेको कतिपय स्थानमा समेत कालोपत्र उप्किन सुरु भइसकेको छ । भालुखोला, धेरैनी, पिपलडाँडा, सीता पहाड लगायतका स्थानमा मर्मत गरेको भएपनि भत्किन सुरु भइसकेको छ । घाम लागेका महिनामा निर्माण व्यवसायीले काम नगर्ने र बिल भुक्तानीका लागि पानी पर्न सुरु भइसकेपछि असारको अन्तिममा काम गर्दा कालोपत्र नटिक्ने समस्या भएको हो ।
सिद्धार्थ राजमार्गको दोभान बजार क्षेत्रका साथै तानसेनको लामडाँडामा पानी परेका बेला कालोपत्र गरेपछि स्थानीयले विरोध जनाएका थिए । असार २५ देखि २८ सम्म पानी परेको समयमा समेत कालोपत्र गरेपछि स्थानीयले सडक डिभिजनका कर्मचारीको लापरवाही भएको गुनासो गरेका हुन् ।
कालोपत्र बिच्छ्याएर रोल गरिसकेको स्थानमा पानी परेपनि केही नहुने तर पानी जम्ने अवस्था आयो भने बग्ने बनाउनु पर्ने भएकाले निर्माण व्यवसायीलाई पुनः काम गर्न लगाइने सडक डिभिजनले जनाएको छ । सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई समयमै काम गर्न पटक पटक चेतावनी दिने गरेको जनाएको छ ।
सडक डिभिजन अन्तर्गत पाल्पाकै रामपुर–बेलडाँडा–मित्याल सडकको मित्याल बजार नजिकै १ हजार ४ सय मिटर ग्राभेल पनि राखेकै भोलिपल्ट बगेको छ । यसको स्थानीय तहका जनप्रतिनिधिका साथै स्थानीयले विरोध जनाउँदै आएका छन् ।
तीन वर्षदेखि काम नगरेको चण्डी निर्माण सेवाले असारमा वर्षा सुरु भइसकेपछि ग्राभेल गरेको सडक डिभिजन पाल्पाले जनाएको छ । निस्दी गाउँपालिकामा सडक डिभिजन अन्तर्गत तीनवटै ठेक्काका काममा लापरवाही भएको स्थानीयले गुनासो गरेका छन् ।


