काठमाडौँ । जिली अटो गु्रपले आफ्नो पूर्णत विद्युतीय एसयूभि जिली इएक्स ५ को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ । यो उपलब्धिले जिली इएक्स ५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको जनाइएको छ।
कम्पनीका अनुसार, उत्पादक देश चीनमा जिली इएक्स ५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो। थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध रहेको बताइएको छ ।
जिली इएक्स ५ ले सन् २०२५ को पहिलो छ महिनामै विश्वभरी १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ % को बृद्धि हासिल गरेको जनाइएको छ। यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा गरेको छ।
२ लाख १० हजार भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र जिलीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ ।
आगामी वर्षहरूमा, जिली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको कम्पनीले जनाएको छ।
नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल जिली इएक्स ५ले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको बताइएको छ। ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन्। बढ्दो चासो र मागका कारण, नेपालका लागि जिली इएक्स ५ को आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ।
अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार थाप्दै जिली इएक्स ५
जिली इएक्स ५ ले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको जनाइएको छ। यसले सन् २०२५ मा यूरो एनक्याप/ ए एनक्याप (Australasian New Car Assessment Program) दुबैबाट फाइभ–स्टार सुरक्षा रेटिङ्ग प्राप्त गरेको कम्पनीले बताएको छ।
जिलीको अत्याधुनिक जिली प्लेटफर्ममा आधारित जिलीको अधिक मजबुत शरीर संरचना र “Cloverleaf” ऊर्जा–शोषण डिजाइनले गाडीको ठक्कारमा पनि उच्च सुरक्षा प्रदान गर्छ। हरेक इएक्स ५ मोडेलमा ७ वटा एयरब्याग, Autonomous Emergency Braking, Adaptive Cruise Control, Lane–Keeping Assist, Blind–Spot Detection , र ३६०° क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समाविष्ट छन्।
कम्पनीका अनुसार, यि विशेषताहरुको कारण जिली इएक्स ५ ले सन् २०२५ को प्रतिष्ठित Red Dot Design Award पाएको छ, जसले यसको सुन्दर डिजाइन, एरोडाइनामिक बनावट र स्मार्ट इन्टेरियरलाई सम्मानित गरेको हो। यी उपलब्धिहरूले जिली अटोको विश्वस्तरको नवप्रवर्तन, प्रदर्शन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको बताइएको छ।





