Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु, शव शिक्षण अस्पताल ल्याइयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, २४
हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु, शव शिक्षण अस्पताल ल्याइयो

गोरखा, २४ साउन । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती गुरुङ, लक्ष्मी गुरुङ, निशा तामाङ, र एक जना नवजात शिशु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नवजात शिशु बिरामी भएका कारण उपचारका लागि सो हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै गरेको थियो । प्राधिकरणका निमित्त महाप्रबन्धकका अनुसार प्राधिकरणका प्राविधिकलगायत सुरक्षाकर्मी घटनास्थल पुगिसकेको र मृतको शव सङ्कलन गरी हेलिकप्टरद्वारा काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

प्राधिकरणका अनुसार आज अपराह्न १२ः३२ बजे नुवाकोटको मदनपुर–९ बेतनी जङ्गलको चुच्चेभिरमा सो हेलिकप्टर दुर्घटना भएको थियो ।
सबैको शव शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ । त्रिभुवन विमानस्थलका निमित्त महाप्रवन्धक सुधीरकुमार चौधरीका अनुसार ५ बजेर १५ मिनेटमा फिस्टेलकै अर्को हेलिकप्टरबाट सबै शव पोष्टमार्टमकालागी ल्याइएको हो ।

सुत्केरी महिलाको उद्धारका लागी त्यहाँ गएको यो हेलिकप्टरले १२ बजेर ३१ मिनेटमा टावरसँग अन्तिम संवाद गरेको थियो । अन्तिम सम्पर्क टुटेको करिब १ घन्टापछी काठमाडौंबाट गएको फिस्टेलकै हेलिकप्टरले दुर्घटनास्थल पहिचान गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई जानकारी दिएको त्यहाँको खोज तथा उद्धार केन्द्रले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स