Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, कतिले गुमाए ज्यान ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, बैशाख, १३
भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, कतिले गुमाए ज्यान ?

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार पाँचौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि वैशाख १२ मा भारतमा दोस्रो धेरै ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३०० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४२ लाख ९६ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ११६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ८०६ जनाको मृत्यु भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३५० जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २२ हजार ९१३ जनामा नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संक्रमण बढेपछि दिल्लीमा लकडाउन लम्ब्याइएको छ । भारतको राजधानी दिल्लीमा भरिएका अस्पतालहरूले बिरामी फर्काउँन थालेका छन् ।

संक्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ । आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरात लगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।

Top Changing Nepal

युट्युब सट्स