पूर्वराजा शाह र रवीन्द्र मिश्रबीच भेटवार्ता, निकाले यस्तो निष्कर्ष
काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । पूर्वराजा शाहसँग आफ्नो १५ वर्षपछि भेट भएको उनले खुलाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मिश्रले पूर्वराजासँगको तस्बिर पनि सेयर गरेका छन् ।
उनले पूर्वराजासँग आफ्नो डेढ घन्टा लामो कुराकानी भएको जानकारी दिए । उनले पूर्वराजासँग सौहार्द्रपूर्ण कुराकानी र छलफल भएको जनाउँदै बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष निकालिएको पनि उल्लेख गरेका छन् ।
१५ वर्षपछिको प्रेमपूर्ण भेट १
असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता, सौम्यता, समझदारी र देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था । बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष ।
राजाबाट गल्ती भएन भनेर मैले कहिल्यै भनिन । सन्सारमा एक या अर्को प्रकारको गल्ती नगर्ने राजा छँदा पनि छैनन् । परिपक्व राजनीतिकर्मीहरू देशको दूरगामी हितलाई ध्यानमा राखि फाइदा र हानीलाई समग्रतामा मूल्यांकन गरेर मात्र ऐतिहासिक महत्व बोकेका संस्था राख्ने या हटाउने निर्णय गर्छन् ।
तर स्वार्थकेन्द्रीत र अपरिपक्व नेपाली राजनीतिकर्मीहरूले एकछिनको आवेगमा राजासँग व्यक्तिगत प्रतिशोध साँध्न देशको दूरगामी हितरअहितका बारे सोच्दै नसोची २४० वर्ष पुरानो संस्था फ्याँकिदिए । त्यो पनि राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने भनि गरिएको १२ बुँदे सहमतिको विपरित गएर ।
२०६३ साल बैशाख ४ गते बसेको पुनर्स्थापित संसदको पहिलो बैठकले राजासँग भएको समझदारी अनुरूप राजसंस्थालाई निरन्तरता दिन जेठी छोरी पनि गद्दीको उत्तराधिकारी हुन सक्ने भनि गरिएको निर्णयको विपरित गएर । अनि चुनाव हारेर ‘जनप्रतिनिधि नै नरहेका’ कृष्णप्रसाद सिटौलालाई संविधानसभामा गणतन्त्रको प्रस्ताव फ्लोर गर्न दिएर ।
संसद पुनर्स्थापना मार्फत आफ्नो गल्ती सच्याइसकेका राजालाई यसरी षडयन्त्र गरेर, विदेशीको प्रभावमा परेर, ढाँटेररछलेर गद्दीच्युत गरिएको थियो । त्यसपछि दर्जनौ स्वदेशी र विदेशी राजा जन्मिए । पृथ्वीनारायण शाहलाई सरापेर मार्क्स र माओलाई माला लाउन थाले ।
अहिलेका अधिकांश राजनीतिकर्मीलाई अन्तर्राष्ट्रिय भूराजनीतिको भूमरीमा पर्न लागेको नेपाल, नेपालभित्र बढ्दै गएको जातीय र धार्मिक संवेदनशीलता तथा नेपाली सेनाबाहेक राजनीतिले बेस्कन गिजोलिएका र लगभग पूर्णत क्षयीकृत भएका नेपालका सबै संस्थाहरूबारे मतलबै छैन ।
नेपालजस्तो कमजोर र कुनै पनि बेला ‘असफल राज्य’ मा परिणत हुनसक्ने देशमा संकटको घडीमा अभिवावकीय भूमिका खेल्न सक्ने एउटा संस्था नराख्ने हो भने संकटमा फसिसकेपछि त्यो खोजेर पनि पाइँदैन । ढिलो भइसकेको हुनेछ ।
म पत्रकार हुँदा र राजा ‘राजा’ नै हुँदा सन् २००७ मा उनलाई दुई पटक भेटेको थिएँ । त्यसपछिको भेट यही नै हो । राजाको दिर्घायुको तथा देशको हितलाई हेरेर, विचारभन्दा माथि उठेर सबै पक्ष राजसंस्थाको छिटोभन्दा छिटो पुनर्स्थापनामा सहमत होउन् भन्ने कामना गर्दछु । यो नेपालका लागि मात्र नभएर, दक्षिण एशियाकै दिर्घकालीन हितमा हुनेछ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


