काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर २५ गते स्वीकृति पाएको हो । स्वीकृतिअनुसार ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागिएको छ ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सबै वडाबासीले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओमा पुस १४ गतेसम्म आवेदन दिन सकिनेछ भने आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि पुस २३ गतेसम्म आवेदन खुला रहनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ । आईपीओलाई केयर रेटिङ्ग्स नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी माइनस’ इस्युअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
आयोजना प्रभावितले दुप्चेश्वर गाउँपालिकास्थित आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको खैरनिटार शाखा तथा काठमाडौंको थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयबाट दरखास्त फाराम प्राप्त गरी बुझाउन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।





