काठमाडौं । युक्लिड अन्तरिक्ष टेलिस्कोपले पहिलो पटक हालसम्म पत्ता लागेकामध्ये सबैभन्दा पुरानो क्वासार पहिचान गरेको छ। यसले वैज्ञानिकहरूका लागि ब्रह्माण्डसम्बन्धी एउटा रहस्यलाई अझ गहिरो बनाएको छ।
क्वासारहरू ब्रह्माण्डका सबैभन्दा चम्किला पिण्डहरू हुन्। यिनीहरूले आफ्नो ऊर्जा अति विशाल कृष्णविवर बाट प्राप्त गर्छन्। प्रारम्भिक आकाशगंगाहरूको केन्द्रमा अवस्थित यी अति विशाल कृष्णविवरहरूले आफ्नो वरिपरिको धुलो र ग्याँसलाई निल्ने गर्छन्। यस प्रक्रियाबाट उत्पन्न हुने चमक सूर्यको तुलनामा खर्बौं गुणा बढी हुन सक्छ।
वैज्ञानिकहरू ब्रह्माण्डका रहस्यहरूबारे थप जानकारी हासिल गर्ने आशामा तिनको अतुलनीय चमकका कारण प्राचीन ‘क्वासार’हरूको खोजी गर्छन्। आखिर, अन्तरिक्षको गहिराइमा दृष्टि पुर्याउनु भनेको समयमा पछाडि फर्केर हेर्नु पनि हो।
सोमबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा खगोलविद्हरूले ३१ वटा ‘क्वासार’ पत्ता लागेको घोषणा गरेका छन । तीमध्ये दुईवटा क्वासार अहिलेसम्म पत्ता लागेकामध्ये सबैभन्दा पुराना हुन्। ब्रह्माण्डको वर्तमान उमेर १३।८ अर्ब वर्षको तुलनामा केवल ५ प्रतिशत अर्थात् करिब ६७ करोड वर्षको उमेर हुँदा देखि नै यी दुई पुराना क्वासारबाट प्रकाश हामीसम्म आइ पुगिरहेको छ। यसअघि सबैभन्दा पुरानो मानिएको क्वासारसम्बन्धी जानकारी सन् २०२१ मा सार्वजनिक भएको थियो, त्यो क्वासार ब्रह्माण्ड करिब २ करोड वर्षको उमेरको हुँदाको समयको थियो।
यी क्वासारहरू युरोपेली अन्तरिक्ष एजेन्सीको ‘युक्लिड’टेलिस्कोपद्वारा पत्ता लगाइएका हुन्, जुन पृथ्वीबाट करिब १५ लाख किलोमिटरको दूरीमा अवस्थित छ। यसअघि पत्ता लागेका क्वासारहरू जमिनमा आधारित टेलिस्कोपहरूको प्रयोगबाट फेला पारिएका थिए।
‘एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स’ मा प्रकाशित अनुसन्धान प्रतिवेदनका प्रमुख लेखक डेमिङ याङका अनुसार सन् २०२३ मा प्रक्षेपण गरिएको युक्लिड टेलिस्कोपले यस क्षेत्रलाई पूर्ण रूपमा रूपान्तरण गरेको छ।
नेदरल्यान्ड्सको लाइडेन विश्वविद्यालयका पीएचडी विद्यार्थी याङले यो पनि बताए कि युक्लिडले जम्मा दुई वर्षमै पत्ता लागेका प्राचीन क्वासारहरूको संख्या दोब्बर बनाएको छ।
हालै पत्ता लागेका क्वासारहरू ‘रिआयनाइजेसनको युग’सँग सम्बन्धित छन्। यो त्यस्तो समय थियो जब पहिलो तारा र आकाशगंगाहरूबाट निस्किएको पराबैंगनी विकिरणले तटस्थ हाइड्रोजनलाई आयनीकृत गरेको थियो । यी तारा र आकाशगंगाहरूको निर्माण ‘अन्धकार युग’को लगत्तै सुरु भएको थियो। यस प्रक्रियाले ब्रह्माण्डको ‘अन्धकार युग’ को अन्त्य गर्यो र ब्रह्माण्डलाई पारदर्शी बनायो। वैज्ञानिकहरूका लागि यो अवधि विशेष महत्त्वको छ किनकि यसले तारा, क्वासार र आकाशगंगाहरूको उत्पत्ति कहिले भयो भन्ने कुरा पत्ता लगाउन मद्दत गर्छ।
डेमिङ याङ भन्छन्, ‘हामी क्वासारहरू जस्तै लाइटहाउसहरू प्रयोग गरेर तिनीहरू र हामी बीच रहेको ग्याँसको अध्ययन गर्न सक्छौं, यसरी हामी यो ब्रह्माण्डीय इतिहासको समयमा ब्रह्माण्ड कहिले पुनर्आयनीकरण भयो भनेर निर्धारण गर्न सक्छौं।’
क्वासारहरूले पनि वैज्ञानिकहरूलाई अलमलमा पार्ने नयाँ समस्याहरूको उदाहरण प्रस्तुत गर्छन्। अझ शक्तिशाली टेलिस्कोपहरूले हामीलाई सुदूर विगतको अझ गहिराइसम्म हेर्न सक्षम बनाइरहेका छन्। साथै, त्यस प्रारम्भिक युगका खगोलीय पिण्डहरू पहिले अनुमान गरिए भन्दा निकै विशाल रहेको पाइएको छ।
अनुसन्धान प्रतिवेदनका सह लेखक जोसेफ हेन्नावीले नयाँ क्वासारको खोजपछि जारी गरेको विज्ञप्तिमा भने, ‘समयमा पछाडि फर्केर हेर्दा यो रहस्य अझ जटिल बन्दै जान्छ। हाम्रो सूर्यभन्दा अर्बौं गुणा बढी भारी भएका यी विशाल पिण्डहरू हाम्रो ब्रह्माण्डको प्रारम्भिक अवस्थामै पनि अस्तित्वमा थिए।’
नाभीले यो पनि बताए, ‘तिनीहरू यति छिटो कसरी विशाल बने भन्ने कुरा हामीलाई अझै थाहा छैन।’
वैज्ञानिकहरू यसको जवाफ खोज्ने आशामा अझ पुराना क्वासारहरूको खोजी गरिरहेका छन्। ब्रह्माण्डको गहिराइसम्म हेर्न सक्ने क्षमता भएको जेम्स वेब स्पेस टेलिस्कोपले हालै पत्ता लागेका त्यस्ता धेरै क्वासारहरूको अवलोकन गरेको छ। वैज्ञानिकहरूलाई आशा छ कि उनीहरू अन्ततः ब्रह्माण्डको सुरुवाती एक अर्ब वर्षको अवधिमा रहेका क्वासारहरूको विवरण तयार पार्न सफल हुनेछन्।


