Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

खुर्सानी खेती गर्ने सजिलो तरिका

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २३
खुर्सानी खेती  गर्ने सजिलो  तरिका

खुर्सानीलाई हरियोमा काँचै खान, सुकाएर धुलो, मसला र अचारको लागि प्रयोग गरिन्छ । यसमा विशेषगरी भिटामिन ‘ए’ र ‘सी’ प्रशस्त मात्रामा पाइन्छ ।

हावापानी :
न्यानो हावापानी, सुख्खा र गर्मी मौसम उपयुक्त हुन्छ । तापक्रम ३८ डिग्री सेन्टिग्रेड भन्दा माथि र आद्रता कम भएमा फल र फूल कम लाग्छ ।

उपयुक्त जातहरू :
उन्नत जातको रूपमा पूसा ज्वाला, सूर्यमुखी, यात्सुफुसा, चन्द्रमुखी, जी–४, आदि ।
वर्णशङ्कर जातको रूपमा एनएस १७०१, एनएस १७११, कर्मा ७५७, कर्मा ७७७, आदि ।

रोप्ने र बाली लिने समय :

माटो :
पिएच मान ६ देखि ६.५ र पानीको राम्रो निकास भएको दोमट माटो उपयुक्त हुन्छ ।

जग्गाको तयारी :
गोबर वा कम्पोष्ट मल राखेर जमीनलाई तीन देखि चार पटक खनजोत गरी झारपात हटाइ समथर बनाउने । बिरुवा रोप्नको लागि ६० से.मी. को फरकमा ड्याङहरू बनाउने ।

बीऊ दर :
उन्नत : प्रति रोपनी ३० ग्राम (प्रति कठ्ठा २० ग्राम)
वर्णशङ्कर : प्रति रोपनी १० ग्राम (प्रति कठ्ठा ६.६ ग्राम)
बेर्ना भएप्रति रोपनी २,०००–२,५०० बोट (प्रति कठ्ठा १,३००–१,६५० बोट)

मलखाद :
रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र बालीको जातमा भर पर्छ ।

बिरुवा रोप्ने दूरी, उमेर र सार्ने तरिका :
ड्याङमा हारको दूरी ६० से.मी. र बोटदेखि बोटको दूरी ४५ से.मी. मा रोप्ने । करिब ३० देखि ३५ दिनको बेर्ना जाडोयाममा ५–६ पाते र वर्षायाममा ७–८ पाते होचो बेर्ना सार्ने । बेर्ना सारेको ३–४ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना पुनः सार्ने ।

गोडमेल :
खुर्सानीबालीमा झारपात हटाएर माटो खुकुलो बनाइ राख्न २–३ पटक गोडमेल गरी उकेरा लगाउने । विरुवामा छापो लगाउने ।

सिंचाई र निकास :
आवश्यकता अनुसार ३ देखि ४ पटक ड्याङको आधाभाग भिज्नेगरी सिंचाई गर्ने । युरिया मल दिएपछि र गोडमेल पछि सिंचाई गर्र्ने । बिरुवाको फेदमा पानी जम्न नदिने ।

बाली संरक्षण :
मुख्यतः ओइलाउने र मोज्याक भाइरस रोग लाग्छ । ओइलाउने रोग लागेमा पुरै विरुवा ओइलाएर मर्दछ । मोज्याक भाइरस लागेका पातहरू गुज्मुजिन्छन् र बिरुवा पहेंलो हुँदै जान्छ । मोज्याक भाइरस लागेका बिरुवाहरू उखेलेर जलाउने । ओइलाउने रोगबाट बचाउनको लागि बाली चक्र अपनाउने । तर भेडे खुर्सानी, भण्टा, गोलभेडा, आलु जस्ता सोलानेसी परिवारका बिरुवाहरू भने बाली चक्रमा प्रयोग गर्नु हुँदैन ।

बाली लिने :
जात अनुसार बेर्ना रोपेको करिब तीन महिनाबाट सुरु गरी आठ महिनासम्म खुर्सानी टिप्न सकिन्छ । भेट्नुमा काठ पसेको हरियो चम्किलो खुर्सानी टिप्ने ।

उत्पादन :
जात र व्यवस्थापन अनुसार प्रति रोपनी ५००–८०० के.जी. (प्रति कठ्ठा ३३०–५३० के.जी.) उत्पादन हुनसक्छ ।

प्रस्तुतिः सुरेशकुमार थापा (कृषि प्रसार अधिकृत), जिल्ला कृषि विकास कार्यालय, सुर्खेत

Top Changing Nepal

युट्युब सट्स