काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलले पराजित गर्दै नेपाल अन्तिम चारमा समूह विजेता बनेर पुगेको हो । नपालले पहिलो हाफमै चार गोल गरेको थियो। नेपालका लागि खेलको दशौं मिनेटमा रश्मीकुमारी घिसिङले हेडमार्फत पहिलो गोल गरेकी थिइन् ।
लगत्तै अर्को मिनेटमा सुरू लिम्बुले नेपालको अग्रता दोब्बर पारिन्। खेलको १७ मिनेटमा अमृत जैशीले नेपालका लागि तेस्रो गोल गरिन् । नेपालले सात मिनेटको अन्तरमा तीन गोल गरेपछि श्रीलंका दबाबमा आएको थियो। नेपालका लागि चौथो गोल दिपा शाहीले गरिन् । उनले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरिन् ।
७७ मिनेटमा अमिसा कार्कीले अर्को गोल थपिन् । रेखा पौडेलको स्थानमा दोस्रो हाफमा मैदान छिरेकी अमिसाले उत्कृष्ट फिनिसिङ गरेकी थिइन् । अमिसाले दोस्रो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो तथा टिमका लागि छैठौं गोल गरिन् । उनले एकल प्रयासमा श्रीलंकाका तीन डिफेन्डरलाई पार गर्दै उत्कृष्ट फिनिसिङ गरेकी थिइन् ।
नेपाल समूह विजेता बनेसँगै भुटान भने उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । यसअघि भुटानले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ५९० गोलले पराजित गरेको थियो । समूहको पहिलो खेलमा नेपालले भुटानमाथि ४(० को जित निकालेको थियो। अब सेमिफाइनलमा नेपालले शुक्रबार भारत वा बंगलादेशसँग खेल्नेछ । समूह ‘ए’ बाट भारत र बंगलादेश अन्तिम चारमा पुगे पनि समूह विजेताको टुंगो लाग्न बाँकी छ ।
भारत र बंगलादेश भोलि भिड्दैछ । हार बेहोर्ने टिमसँग नेपालले शुक्रबार साँझ खेल्नेछ । यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो। नेपाल भने चार पटक फाइनलमा पराजित भएको थियो ।





