आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
काठमाडौं। नेपाली समाजमा विशेष गरी जनै पूर्णिमा र गुँपुन्हिको दिन विभिन्न नौ प्रकारका गेडागुडी भिजाएर, टुसा उमारेर बनाइने परम्परागत परिकार नै क्वाँटी हो।
नेवारी भाषामा ‘कु’ को अर्थ तातो र ‘टी’ को अर्थ झोल वा सुप हुन्छ। क्वाँटी बनाउन गेडागुडीहरूमा जस्तै चना, केराउ, मास, मुगी, सिमी, भटमास, बकुल्ला, बोडी, गहुँ र मकैलाई ३–४ दिन अघिदेखि भिजाएर टुसा उम्रिए पछि मात्रै पकाइन्छ।
पकाउने र खाने तरिकाः
सामग्रीः टुसा उम्रिएका ९ थरी गेडागुडी, ज्वानो, अदुवा, लसुन, सुकेको खुर्सानी, जिरा धनियाँको धूलो, गरम मसला, टमाटर, तोरीको तेल र नुन।
पकाउने विधिः
१.प्रेसर कुकरमा तोरीको तेल तताएर ज्वाँनो, सुकेको खुर्सानी र हिङ (रुचि अनुसार) को फुरन हाल्नुहोस्।
२. अदुवा लसुनको पेस्ट, बेसार र मसलाहरू हालेर हल्का भुट्नुहोस्।
३. अब टुसा उम्रिएका गेडागुडी हालेर ४–५ मिनेट राम्ररी भुट्नुहोस्।
४. स्वाद अनुसार नुन र टमाटर हालेर पछि प्रशस्त पानी (झोल बनाउन) हाल्नुहोस्।
५. कुकरको बिर्को लगाएर ५ देखि ६ सिटी लगाउनुहोस् ताकि गेडागुडी राम्ररी गलोस्।
खाने तरिकाः क्वाँटीलाई तातो–तातो झोल अर्थात सुपको रूपमा पिउन सकिन्छ वा भात र रोटीसँग तातो तरकारी र झोलको रूपमा खान सकिन्छ।
स्वास्थ्यका लागि फाइदाहरूः
प्रचुर प्रोटिनः नौ थरी गेडागुडीको मिश्रण भएकाले यसबाट शरीरलाई पर्याप्त मात्रामा वनस्पतिजन्य प्रोटिन प्राप्त हुन्छ, जसले मांसपेशी बलियो बनाउन र शरीरको मर्मत सम्भारमा मद्दत गर्छ।
पाचन प्रक्रियामा सुधारः गेडागुडीको टुसा उमारेर पकाउँदा यसमा फाइबरको मात्रा बढ्छ र पचाउन सजिलो हुन्छ। यसले कब्जियतको समस्या हटाउँछ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धिः टुसा उम्रिएका गेडागुडीमा भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, आइरन, र मिनरल्सको मात्रा उच्च हुन्छ, जसले शरीरको इम्युनिटी अर्थात रोगसँग लड्ने क्षमता बढाउँछ।
जाडो र चिसोबाट राहतः वर्षायाम सकिन लाग्दा मौसम परिवर्तन भई लाग्ने चिसो, रुघाखोकी र शरीरको दुखाइ कम गर्न क्वाँटीको तातो झोलले प्राकृतिक औषधिको काम गर्छ। ज्वाँनोको फुरनले पेटको वायु अर्थात ग्याँस कम गर्छ।
उर्जा र रक्तसञ्चारः यसमा हुने आइरन र जटिल कार्बोहाइड्रेटले शरीरमा रगतको कमी हुन दिँदैन र दिनभर स्फूर्ति प्रदान गर्छ।
सम्बन्धित समाचार
आज जनै पुर्णिमा,जनै फेर्दै र हातमा डोरो बाँध्दै मनाइँदै
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
२०८३ भदौ ७ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


