एजेन्सी । लियोनल मेस्सीले अन्ततः आफ्नो फुटबल करियरको सबैभन्दा ठूलो सपना पूरा गरेका छन् । एक खेलाडीको रूपमा, उनले आफ्नो पहिलो फुटबल विश्वकप जितेका छन् । आइतबार भएको फाइनलमा मेस्सीको टोली अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ ले पराजित गर्न सफल भयो ।
अर्जेन्टिनाले सन् १९८६ पछि कुनै पनि फिफा विश्वकप जितेको थिएन । अर्थात् उसको ३६ वर्षको प्रतिक्षाको अन्त भएको छ । खेलको पहिलो गोल मेस्सीले पेनाल्टीमा गरेका थिए । डि मारियाले दोस्रो गोल गरे । त्यसपछि किलियन एमबाप्पेले लगातार २ गोल गर्दै स्कोर २–२ को बराबरीमा ल्याएका थिए ।
पहिलो अतिरिक्त समयमा मेस्सीले गोल गरे भने दोस्रो अतिरिक्त समयमा एमबाप्पेले गोल गरेपछि स्कोर ३–३ को बराबरी भयो । सुटआउटमा पनि मेस्सीले गोल गरेका थिए । यो जित मेस्सीका लागि पनि स्मरणीय छ, किनभने प्रतियोगिताअघि नै उनले सन्यासको कुरा गरेका थिए । यो अर्जेन्टिनाको समग्र तेस्रो उपाधि हो । योसँगै फ्रान्सेली टोली लगातार दोस्रो पटक उपाधि जित्न असफल रह्यो ।
फिफा विश्वकपको उपाधि जित्दा अर्जेन्टिनाको टोलीले करिब ५ सय ६० करोड रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै फिफा विश्वकपको च्याम्पियनले १८ क्यारेटको सुनको ट्रफी प्राप्त गरेको छ । यसको लागत २३२ करोड रुपैयाँ रहेका छ र यसको वजन लगभग ६ किलोग्राम छ ।
फ्रान्सले पायो ४०० करोड
फ्रान्सेली टोली प्रतियोगिताको उपविजेता रह्यो । उसले करिब ४०० करोड रुपैयाँ पायो । प्रतियोगिताको कुरा गर्दा कुल पुरस्कार राशि ५८५० करोड रुपैयाँ थियो । तेस्रो स्थानमा रहेको क्रोएसियाको टोलीलाई करिब ३५८ करोड रुपैयाँ र चौथो स्थानमा रहेको मोरक्कन टोलीलाई करिब ३३१ करोड रुपैयाँ दिइएको थियो ।
पाँचौंदेखि आठौं स्थानका रहेका सबै टोलीले करिब २२५ करोड रुपैयाँ पाएका छन् । नवौंदेखि १६ औं स्थानमा रहेका टोलीलाई १७० र १७ औँदेखि ३२ औं स्थानमा रहेका टोलीलाई ११७ करोड रुपैयाँ दिइएको थियो ।
सन् १९३० देखि पुरुष फुटबल विश्वकप आयोजना हुँदै आएको छ । पुरुष फुटबल विश्वकप फिफाले आयोजना गर्छ । विश्वकप फुटबलको उपाधि अहिलेसम्म ८ राष्ट्रले मात्रै जितेका छन् । ब्राजिलले सबैभन्दा बढी ५ पटक जितेको छ । जर्मनी र इटालीले ४–४ पटक, अर्जेन्टिनाले ३ पटक, फ्रान्स–उरुग्वेले २–२ पटक र इंग्ल्याण्ड–स्पेनले १–१ पटक उपाधि जितेका छन् ।