टोखाबाट वार्षिक चार करोडको चाकु बिक्री
काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको हो ।
टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ ।
टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा समेत बिक्री वितरण हुँदै आएको बताउछन् । टोखामा बर्सेनि झण्डै पाँच लाख चाकु उत्पादन हुने गर्दछ । टोखा चाकुको प्रसिद्ध सहर हो । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखु खेती हुने ठाउँका रुपमा चिनिन्छ । परम्परागत समयदेखि उखुबाट चाकु उत्पादन गरिने टोखामा उक्त व्यवसायलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै आएको छ ।
टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखामा उत्पादन भएको चाकु नेपालका विभिन्न सहरमा जाने भएकाले यसको माग व्यापक बढेको छ ।
टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष श्रेष्ठ टोखाका सञ्चालित उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोेडौँ रुपैँया आम्दानी गर्छन् । उनका अनुसार टोखाको एक उद्योगले वार्षिक रु ३० लाखसम्म आम्दानी गर्छ । टोखाका १४ उद्योगले वार्षिक ३० लाखका दरले झण्डै रु चार करोडभन्दा बढी रकम आम्दानी गर्दा टोखाको समग्र अर्थतन्त्रमा समेत योगदान पुगेको छ ।
टोखा नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्राण्डिङ गर्ने घोषणा गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठक टोखाको पहिचान चाकुले दिएकाले यसको ब्राण्डिङका लागि नगरपालिकाले विशेष योजना अगाडि सारेको बताउछन् । “टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ”, उनि भन्छन् ।
टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ३५ सम्म बिक्री हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । यस्तै माघे सङ्क्रान्तिमा चाकुबाहेक सख्खर, तरुललगायतका खानेकुरा समेत खाने प्रचलन रहेको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
